आइतबार सानेपामा चुनढुंगा बोकेको गाडीमा ठेकेदार कम्पनीले कर संकलन गर्न खोजेपछि चुनढुंगा सप्लायर्सले दोहोरो कर तिर्न नपर्ने भनी अडान लिए । विवाद बढ्दै गएपछि हात हालाहालको स्थिति बन्यो । चुनढुंगा सप्लायर्सले प्रहरीमा उजुरी दिए ।
प्रहरीले आइतबार कवाडी कर संकलनका ठेकेदारसहित चार जनालाई पक्राउ गर्यो । सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अभद्र व्यवहारमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा गुमान विक्रम खत्री, रोशन चौधरी, प्रकाश बस्नेत र श्याम ठकुरी छन् । चौधरी कवाडी कर संकलनका ठेकेदार हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चाँडै अनुसन्धान टुंग्याएर जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेश गर्ने बताए ।
चौधरीको इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरीवेयर कम्पनीले ललितपुर महानगरपालिकाबाट कवाडी करको ठेक्का गत महिना आर्थिक वर्ष २०८०/८१ को बाँकी भएको अवधि र आर्थिक वर्ष २०८१/८२ सम्मको लागि १० करोड १८ लाख रुपैयाँमा पाएको थियो ।
ठेक्का अनुसार कम्पनीले ललितपुर महानगरपालिका क्षेत्रभित्रको जुडीबुटी, कवाडी तथा जीवजन्तुका वस्तुहरु ओसारपसारमा तोकिए बमोजिमको दरमा कर असुल उपर गरिने व्यवस्था छ ।
ललितपुर महानगरपालिकाले व्यवस्था गरेअनुसार ठेकेदारले बियरलगायत मदिराका खाली सिसी, मिनरल वाटर, तेलको टिन, प्राकृतिक तथा कृतिम ऊनका टुक्रा, गार्मेन्टका कपडाका टुक्रा, कार्पेटका टुक्रा, टिन, ड्रम, धातुका टुक्रा, पोलिथिन पाइपका टुक्रा, काँचको टुक्रा तथा धुलो, कागजजन्य सामानमा कवाडी कर संकलन गर्न सकिन्छ ।
त्यस्तै प्रचलित कानुनले निषेधित गरेको बाहेकका मरेका वा मारिएका जीवनजन्तुको हाड, सिङ, प्वाख, छाला अनि ऊन, खोटो, छ्वाली, पराल, निगालो, बाँस, काठ, ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, रोडा, स्लेट, बिछ्याउने ढुंगा, प्लाष्टिकका खाली बोरा, बोतल, भाडाकुडा, पुराना जुत्ता, चप्पल, ग्यालिन/जर्किन आदि वस्तुको कर उठाउन सक्ने व्यवस्था गरेको छ ।
यी वस्तुहरूको १ रुपैयाँ प्रतिकेजीदेखि लिएर ५० रुपैयाँसम्म र बाँसको प्रति गोटा ५० रुपैयाँ, काठको प्रति ट्रक २ सय रुपैयाँ तोकेको छ भने ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, रोडा, स्लेट, बिछ्याउने ढुंगाको प्रति क्यू फिट २ रुपैयाँ तोकेको छ । ठेकेदार कम्पनीले तरकारी बोक्ने गाडीको ५ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म उठाउने गरेका छन् ।
ठेकेदार कम्पनीले अतिनै गरेपछि ललितपुर महानगरपालिकाको हालै सम्पन्न सार्वजनिक सुनुवाईमा पनि निकै विरोध भएको थियो । सुनुवाईमा बोल्दै कुपण्डोलका सामाजिक अभियान्ता राजाराम तन्डुकारले ठेकेदारले कवाडी करमा आफुखुसी कर उठाएपनि महानगरपालिकाले रोक्न पहल नगरेको भन्दै आपत्ति जनाएका थिए ।
उनले प्रश्न गरे, ‘के लासको पनि कर उठाएपनि महानगरपालिका मानै बस्ने त ?’ उनले करको दायरमा ल्याएकोमा विरोध नभई कवाडीको नाममा जथाभावी कर उठाएर जनतालाई दुख दिन नहुने बताए । ‘यसलाई तत्काल महानगरपालिकाले सच्याइयोस्,’ उनले भने ।
ललितपुर महानगरपालिकाका सुचना अधिकारी देवप्रसाद गुरागाईका अनुसार कवाडी कर संकलन गर्ने विषयमा महानगरपालिकाको आर्थिक ऐन अस्पष्ट हुँदा पनि विवाद भइहरहेको हो ।
‘ऐनको अनुसूची ५ मा जडिबुटी, कवाडी र जीवजन्तु कर संकलनको विवरणको १८ नम्बर बुँदामा ‘अन्यको हकमा प्रति केजी २ रुपैयाँ’ कर संकलन गर्ने उल्लेख छ । तर, महानगरपालिकाले अन्यमा के–के बस्तु पर्छ भन्ने बारेमा व्याख्या गर्न सकेको छैन,’ उनले भने ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले मनपरी शुल्क उठाएको विषयमा गुनासो आएपछि ठेकेदार कम्पनीसँगै ललितपुर महानगरपालिकामा पनि आन्तरिक छलफल गरिसकेको बताए । ‘अब समस्या समाधान हुन्छ,’ उनले भने, ‘कवाडी कर संकलन ललितपुर महानगरपालिकामा पहिलो पटक भएकाले कमीकमजोरी हुनसक्छ । त्यसलाई सुधार गर्दै लैजानुपर्छ ।’
ठेकेदार कम्पनीले चक्रपथ सडकमा ढाट राखेर कर संकलन गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सालिकराम तिमिल्सनाले दुर्घटना हुन सक्ने बारेमा सचेत गराइसकेको बताए । ‘अहिलेसम्म ढाट राखेकै कारणले दुर्घटना भएको छैन,’ उनले भने । साभार कान्तिपुर