This Content Is Only For Subscribers
जनकपुरधाम, २ जेठ । महोत्तरी र धनुषाका किसानले सिँचाइका लागि जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।
मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको कार्यालयले जनाएको छ । दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक–पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।
धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न रु पाँच लाख खर्च लाग्ने गरेको छ ।
धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युवेल जडान गरेर सिँचाइ भइरहेको छ । एउटा डिपट्युवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युवेलको निर्माण तथा सञ्चालनमा रु ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।
कार्यालयबाट जाडन भएका ८० वटा पावर ड्रिलट्युवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । यहाँका किसानले डिपट्युवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताउनुभयो ।