This Content Is Only For Subscribers
काठमाडौँ । अपराधको दुनियालाई आत्मसाथ गर्दै ‘काभ्रेली समूह’ नै बनाई समाजमा आतंक मञ्चाउदै आफुलाई ‘डन’ का रूपमा चिनिने गणेश लामा आफ्नो अपराधबाट बच्नका लागि राजनीतिक खोल ओढे पुनः गुण्डागर्दीमै फर्किएको पाईएको छ । विभिन्न समयमा प्रहरीले हतियारसहित पक्राउ गरेको, ठेक्कापट्टा, रक्तचन्दनको तस्करीदेखि हप्ता, महिनावारी असुली सम्मको नाम जोडिने गणेश लामा पछिल्लो समय अगाडीनै बेचिसकेको जग्गाको विषयलाई लिएर मान्छे बन्धक समेत बनाउने कार्यमा सकृय भएको पाईएको छ ।
अपराधबाट जोगिनकै लागि लामा विजय गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरममा प्रवेश गरे । गच्छदारको पार्टी काँग्रेसमा विलय भएसँगै लामा काँग्रेसमा प्रवेशमात्रै गरेनन् कि उनले काभ्रेको प्रदेश सभाको टिकट पनि पाए । निर्वाचनमा जित्न भने सकेनन् ।
तर उनी काँग्रेसको केन्द्रीय सदस्य भए र सुरु गरे काँग्रेसको आँडभसोसामा गुण्डागर्दी उनले गएको पुस २३ गते व्यवसायी ज्ञानेन्द्र खड्कालार्य दिउँसो १ बजेतिर ललितपुर ढोलाहिटीस्थित आफ्नो घर जाँदै गर्दा नियन्त्रणमा लिएर बन्धक बनाएको आरोप लागेको छ ।
सो आरोप व्यवसायी खड्काले सुरक्षा निकायमा जीउज्यानको सुरक्षा र परिवारको सुरक्षा सहित हदै सम्मको कारबाहीको माग राख्दै लामा विरुद्ध उजुरी गरेपछि सो कुरा बाहिरिएको हो । ढोलाहिटीको आदर्श टोलको गल्लीमा पुग्दा नपुग्दै एउटा सेतो गाडीले खड्काको गाडीको बाटो छेकेर दुई जना मानिसले खड्कालाई नियन्त्रणमा लिई गएको आरोप उजुरी पत्रमा रहेको छ ।
प्रहरीमा दिएको जाहेरी दरखास्तअनुसार खड्काको गाडीतर्फ आउने दुई जनाले मास्क र टोपी लगाएको उल्लेख गरेका छन् । खड्काले उजुरीपत्रमा लेखेका छन्,‘एउटा अग्लो र अर्को होचो मान्छे थिए उनीहरुले जबरजस्ती मलाई नियन्त्रणमा लिएको हो ।’ खड्काले अगाडी भने,‘गाडीबाट ओरालेपछि पछाडिको सिटमा राखे । त्यो होचो मान्छे ड्राइभिङ सिटमा बस्यो । त्यो अग्लो मान्छेले मलाई पछाडिको सिटमा आफूसँगै राख्यो ।’
खड्का चढेको गाडीलाई पछ्याउन थाल्यो । खड्कासँगै पछाडिको सिटमा बसेको अग्लो मान्छेले मास्क र टोपी खोल्यो । मास्क र टोपी खोलेपछि गणेश लामा भएको पत्तो पाएको उनले बताएका छन् । गाडीमा राखेपछि ‘तँ चुप् लाग्, तँसँग हाम्रो काम छ,’ भनेर लामाले भनेको खड्काले जाहेरीमा उल्लेख गरेका छन् ।
लामाले थर्काउँदै खड्काको खल्तीमा हात हालेर मोबाइल खोसेको समेत बताए । मोबाइलबाट ‘क्रिप्टो करेन्सी आफूलाई ट्रान्सफर नगरेमा प्रहरीकहाँ बुझाइदिन्छु’ भन्ने धम्की लामाले दिएको उनले बताए । गाडी सानेपास्थित लन्डन होटेल छिराएपछि लामाले खड्कालाई धम्क्याए, ‘सरासर अगाडि हिँड्, भाग्ने होइन भन्दै धम्काएको समेत उनले बताए ।
कोठाभित्रको बेडमा अर्का जग्गा दलाली सहदेव कक्षपति समेत बसेको उनले बताए । जग्गा व्यवसायीसमेत रहेका सहदेव कक्षपति २०७७ मा २ करोड ७० लाख बिगोको चेक अनादर मुद्दामा जेल परेका व्यक्ती हुन । होटेलको कोठामा पु¥याएपछि खड्कालाई ‘क्रिप्टो ट्रान्सफर’ गर्न दबाब दिएको बताए ।
खड्काले भने आफूसँग क्रिप्टो नभएको विषय दोहो¥याइरहे । ‘मेरो मोबाइल तपाईंसँगै छ, त्यसैमा हेर्नुहोस्, मसँग केही छैन भने पछि उनीहरुले विभिन्न आरोपमा फसाई दिने, आफु सत्तापक्ष दलको केन्द्रीय सदस्य हु, मलाई कसैले केही गर्न सक्दैन, आफुले जुनसुुकै केषमा पनि फसाई दिन्छु भन्दै धम्की दिएको खड्काले सम्झिन्छन् ।
पहिलो आरोपमा पुष्ठी हुने कुरा केही नभएपछि लामाले तँसँग कति सम्पत्ति छ ? नेपालमा छ कि अमेरिकामा छ ? तँसँग अमेरिकामा भए हामी उतै पनि जान्छौँ ।’ भन्दै धम्की दिएको बताए । मोबाइल र ल्यापटपमा केही नभेटिएपछि लामाले आफुसंग कति पैसा दिन सक्छस्’ भनेको र आफु जसरी पनि फन्दाबाट उम्किएर निस्किनकालागि २५ लाखसम्म दिन्छु भनेको उनले उजुरी पत्रमा लेखेका छन् ।
सो रकमले नपुग्ने भन्दै दबाब दिई रहेको र लामाले आफूले बेचेको जग्गाको थप जग्गा पैसा मागेको उनले बताए । लामा ६ महिनाको भाका राखेर ‘फर्जी’ कागज गराएको समेत उनले बताए । वकिलले ल्यापटपमा कागज लेखे । त्यसपछि उनी कागज प्रिन्ट गर्न भनेर बाहिर गए ।
प्रिन्ट गरेर ल्याउँदासम्म साँझको ८ बजिसकेको थियो । खड्का लामाको कब्जामा परेको ७ घण्टा भइसकेको थियो । वकिलले कागज ल्याइसकेपछि खड्काले ‘पढेर सुनाउन भने तर, वकिलले सुनाएनन् । त्यसपछि जवरजस्ती खड्काको हस्ताक्षर र औँठाछाप नक्कली कागजातमा लगाएको बताए ।
लामाको बन्धकबाट मुक्त भएपछि उनी घरमा पुगेर भाली भोलि भारत जानु छ’ भनेर सामान प्याक गरि पुस २४ गते सडक मार्ग हुदै भारत गएको र बाटैबाटे लामालाई फोन गरेर म आउन सकिनँ तपाईंको खाता नम्बर पठाउनू, म पैसा हाल्न लगाउँछु भने पछि लामाले निमेष लामा नाम गरेको व्यक्तिको ज्योति विकास बंैकको र सिद्धार्थ बैंकको खाता नम्बर पठाएर एउटामा २० लाख अर्कोमा ३० लाख हाल्दिनू भनेर लामाले म्यासेज गरेको उने बताए ।
लामाले निरन्तर धम्की दिएपछि काठमाडौंबाट खड्काले आफ्नी श्रीमतीलाई पनि भारतमै बोलाए । श्रीमती भारत पुगेपछि खड्काले आफूलाई लामाले अपहरण गरेर जबर्जस्ती कागज गर्न लगाएको र डरले आफू भारत आएको कुरा सार्वजनिक गरेको उनले बताए ।
विदेशमै बस्ने पक्कापक्की गर्नुपहिले खड्काले कानुन व्यवसायीसँग सल्लाह गरेको बताए । कानुन व्यवसायीसँगको छलफलपछि लामाविरुद्ध अपहरणको जाहेरी दिने निर्णय गरेर माघ २५ गते नेपाल फर्किएर माघ २८ गते उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा जाहेरी दिएको उनले बताए । अनुसन्धान कार्यालयले प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि भनेर ललितपुर प्रहरी परिसरमा पठाएको छ ।
उता लामाको समुहमात्र गएर काठमाडौं महानगरपालिका– १०, बानेश्वरमा गएर कागज दर्ता गराएको दाबी खड्काको रहेको छ । तर, खड्काले भने लेनदेनको कागज दर्ता गराएको भनिएको मितिको वडा कार्यालयको सीसीटीभी फुटेज जाँचिपाऊँ भनेरसमेत उजुरी दिएका छन् ।
लामाले ९ वर्षअगाडि बेचेको जग्गाको पैसा फिर्ता लिन आफूले खड्कासँग कागज गराएको बताउदै आएका छन् । उता खड्का भने लामासँग आफूले जग्गा नकिनेको बताउँछन् । खड्का भन्छन्, ‘हामीले गणेश लामासँग होइन, महेश बस्नेतसँग ३० असोज २०७१ मा धुलिखेलदेखि दोलालघाट जाने बाटोतर्फ भिरको जग्गा ४० आना किनेका हौँ ।’
लामाले भने ज्ञानेन्द्र खड्काले आफ्नो जग्गाको पैसा नतिरेको दाबी गर्दै आएका छन्, जसलाई खड्काले तारन्तार खण्डनसमेत गर्दै आएका छन् । ‘मैले गणेश लामाको ७ पुस्तासमेतको कुनै पनि जग्गा नकिनेको छैन । मालपोतमा गएर हेर्दा हुन्छ ।’
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका लामाको विवादित पृष्ठभूमि निकै लामो छ । पछिल्लोपटक ३० फागुन २०७४ मा गौशालाको होटेल पशुपति भिजनमा एउटा पेस्तोल र त्यसमा लाग्ने ६ राउन्ड गोलीसहित पक्राउ परेका थिए । कांग्रेसको राजनीतिमा सक्रिय रहेका लामा २०६५ मा विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा सिधै केन्द्रीय सदस्य भएका थिए ।
त्यसपछि लामा राजनीतिक संरक्षणमा पुगे । गच्छदारको पार्टी कांग्रेसमा विलय भएपछि लामा पनि कांग्रेसमा गए । लामा अहिले कांग्रेसको केन्द्रीय सदस्य छन् । २२ चैत २०७० मा ‘काठमाडौं उपत्यकाभित्र गुन्डागर्दी गर्ने, हतियार बोकेर सर्वसाधारणलाई धम्क्याउने, व्यवसायीसँग जबर्जस्ती चन्दा माग गर्ने, चन्दा नदिए अपहरणको धम्की दिने र आफ्ना सहयोगी परिचालन गरी विभिन्न सरकारी तथा गैरसरकारी ठेक्कापट्टाका ठेकेदारलाई धम्क्याई रकम माग गर्न सक्रिय रहेको आरोपमा उनी पक्राउ परेका थिए ।
उनीविरुद्ध ठगीसँगै त्यतिखेर बैकिङ कसुरको मुद्दासमेत लागेको थियो । लामालाई व्यक्ति अपहरण गरेको आरोप लागेको पनि यो पहिलोपटक भने हैन । लामाले २०७२ असोजमा ललितपुरको भैँसेपाटीका कैलाश बाँस्कोटा र विक्रम बाँस्कोटालाई अपहरण गरेर जबर्जस्ती ४० लाखको कागज गराएको उजुरी परेको थियो ।
त्यस्तै, लामाविरुद्ध विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा समेत दोषी ठहर गरेको थियो । गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा लामालाई २०७५ मा विशेष अदालतले १ वर्ष कैद, १ करोड ४० लाख ५० हजार बिगो तिराउने फैसला गरेको थियो ।